काठमाडौँ: राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूको शपथग्रहण आज हुने भएको छ।
संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय का अनुसार सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा आज दिउँसो २ बजे शपथग्रहण कार्यक्रम तय गरिएको छ।
संघीय संसद सचिवालयका अनुसार राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल ले नेपालको संविधानको धारा ८६ को उपधारा (२) बमोजिम नवनिर्वाचित सदस्यहरूलाई शपथ गराउने कार्यक्रम रहेको छ।
शपथग्रहण कार्यक्रममा सहभागी हुन सदस्यहरूले आफ्नो पहिचान झल्कने पोशाकमा निर्वाचन आयोगबाट प्राप्त राष्ट्रियसभा सदस्य पदको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपीसहित उपस्थित हुनुपर्नेछ।
नेपाली भाषाबाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यहरूले कानुनअनुसार शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको सचिवालयले जनाएको छ।
निर्वाचन आयोगका अनुसार गत ११ माघमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनबाट विभिन्न प्रदेशबाट १८ जना सदस्य निर्वाचित भएका छन्।
कोशी प्रदेशबाट रोश्नी मेचे, सोमनाथ पोर्तेल र सुनिलबहादुर थापा निर्वाचित भएका छन्।
मधेश प्रदेशबाट रेखाकुमारी झा, धर्मेन्द्र पासवान, रञ्जित कर्ण र महन्थ ठाकुर निर्वाचित भएका छन्।
त्यसैगरी बागमती प्रदेशबाट गीता देवकाटा र प्रेमप्रसाद दङ्गाल, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा निर्वाचित भएका छन्।
लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, चन्द्रबहादुर केसी र वासुदेव घिमिरे निर्वाचित भएका छन्।
कर्णाली प्रदेशबाट मीनासिंह रखाल र ललितजंग शाही तथा सुदूरपश्चिम प्रदेशबाट लीलाकुमारी भण्डारी र खम्मबहादुर खाती निर्वाचित भएका छन्।
