काठमाडौँ: Shishir Khanal ले निर्वाचनमा प्राप्त मतलाई जितको घमण्ड नभई देश रूपान्तरणको ठूलो जिम्मेवारीका रूपमा लिएको बताएका छन्। Rastriya Swatantra Party (रास्वपा) का नवनिर्वाचित सांसद खनालले तारकेश्वर नगरपालिकाका मतदातासँगको संवाद कार्यक्रममा यस्तो बताएका हुन्।
उनले रास्वपा असफल भए स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा चरम निराशा छाउने उल्लेख गर्दै आफूहरू कामको परिणामप्रति अत्यन्त सजग रहेको स्पष्ट पारे।
देशलाई सुशासन र समृद्धिको बाटोमा लैजान पार्टी प्रतिबद्ध रहेको बताउँदै खनालले आगामी एक हप्ताभित्र रास्वपाले सरकारमा कस्तो भूमिका खेल्ने र कस्तो स्वरूप लिने भन्ने विषय तय भइसक्ने जानकारी दिए।
निर्वाचन जितेपछि अन्य दलले जस्तो बाजागाजासहित विजय र्याली नगर्ने निर्णय गरिएको पनि उनले बताए। हालै ज्यान गुमाएका ७६ जनाको शोकलाई सम्मान गर्दै यस्तो निर्णय गरिएको उनको भनाइ छ।
“यसलाई हामीले विजयभन्दा पनि जिम्मेवारी र अवसरका रूपमा लिएका छौँ। काम गर्ने यो अवसरलाई एक दिन पनि खेर फाल्दैनौँ,” उनले भने।
खनालले आगामी पाँच वर्षसम्म जनतासँग निरन्तर संवाद र सम्पर्कमा रहने प्रतिबद्धता व्यक्त गरे। टोलटोलमा भेला आयोजना गरेर नागरिकका गुनासा सुन्ने र ती समस्यालाई संसद्मा उठाएर समाधानका लागि निरन्तर पहल गर्ने उनले बताए।
मतदाताले दिएका समस्या संसद्मा उठाउने मात्र नभई आवश्यक परेमा सम्बन्धित ठाउँमै पुगेर समाधानका लागि पहल गर्ने उनले आश्वासन दिए।
जनताले दिएको माया र विश्वासले आफूहरूलाई ठूलो जिम्मेवारीको अनुभूति गराएको खनालले बताए। अरू पार्टी सकिए र अब हामी मात्रै हौँ भन्ने घमण्ड रास्वपामा नरहेको उल्लेख गर्दै उनले सबैको सम्मान गर्दै देश रूपान्तरणको काम तत्काल सुरु गर्ने बताए।
