काठमाडौँ – निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ को प्रतिनिधिसभा निर्वाचन परिणाम तत्काल घोषणा नगर्ने निर्णय गरेको छ। आयोगको निर्णयअनुसार आइतबार नै धनुषा–१ का निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गरिएको आयोगका शाखा अधिकृत (कानून) अरुण अधिकारीले जानकारी दिए।
आयोगले यसअघि फागुन १८ गते धनुषा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साह ‘कमल’को उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम रहेको प्रमाण प्राप्त भएपछि उम्मेदवारी खारेज गरिएको आयोगले जनाएको थियो।
उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भई हाल विचाराधीन रहेकाले अदालतबाट आदेश नआएसम्म धनुषा–१ को प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मत परिणाम घोषणा नगर्न आयोगले निर्देशन दिएको हो।
यस सम्बन्धमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पत्र तामेल गराई त्यसको जानकारी आयोगलाई गराउन प्रदेश निर्वाचन कार्यालयलाई पनि बोधार्थ पत्र पठाइएको अधिकारीले बताए।

