काठमाडौँ – अमेरिका र इजरायलले इरानको राजधानी तेहरान र आसपासका क्षेत्रमा रहेका पाँच वटा तेल भण्डारण केन्द्रमा हवाई आक्रमण गरेको बताइएको छ। उक्त आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने केही संरचनामा क्षति पुगेको जनाइएको छ।
तेहरानस्थित नेशनल इरानी तेल उत्पादन तथा वितरण कम्पनीका प्रमुख केरामत वेइस्कारामीले राज्य सञ्चारमाध्यमसँग कुरा गर्दै भने, “गत रात तेहरान र अल्बोर्ज क्षेत्रमा रहेका चार वटा तेल डिपो र एक पेट्रोलियम ढुवानी केन्द्रलाई शत्रु विमानले लक्षित गरेको थियो।”
उनका अनुसार हमलामा चार जना कर्मचारी, जसमा दुई तेल ट्यांकर चालक समेत रहेका छन्, मारिएका छन्। केही संरचनामा क्षति पुगे पनि आगो नियन्त्रणमा ल्याइएको उनले बताए।
आक्रमणपछि राजधानीको आकाश धुवाँले ढाकिएको थियो र बिहानसम्म शहरका विभिन्न स्थानमा घना धुवाँ देखिएको स्थानीय बासिन्दाहरूले बताएका छन्। उनीहरूले लामो समयसम्म जलिरहेको गन्ध महसुस भएको पनि बताएका छन्।
वेइस्कारामीका अनुसार इरानका तेल डिपोहरूमा पर्याप्त पेट्रोलियम भण्डारण रहेको र आपूर्ति प्रणाली सामान्य रूपमा सञ्चालनमा रहेको छ।
यो घटना फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा हवाई हमला गर्दा सर्वोच्च नेता आयातोल्लाह अली खामेनेई मारिएको घटनापछि बढेको क्षेत्रीय तनावकै बीच भएको हो। त्यसपछि इरानले ड्रोन र मिसाइल आक्रमण गर्दै इजरायल तथा अमेरिकी हितहरूलाई लक्षित गरेको बताइएको छ।
यस घटनाप्रति अन्तर्राष्ट्रिय समुदायले चिन्ता व्यक्त गरेको छ। यद्यपि इरानी अधिकारीहरूले देशमा तेल आपूर्ति पर्याप्त रहेको र सुरक्षा व्यवस्थामा कुनै कमी नभएको बताएका छन्।
