काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनुलाई नेपाली जनता, संविधान र राष्ट्रकै ऐतिहासिक जितका रूपमा व्याख्या गरेकी छिन्।
आइतबार ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सिंहदरबारमा आयोजित विशेष कार्यक्रममा बोल्दै उनले भने, “कठिन र विशेष परिस्थितिमा पनि निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सक्नु मुलुकका लागि ठूलो उपलब्धि हो। यसले देशलाई शान्तिपूर्ण, लोकतान्त्रिक र संवैधानिक निकास दिएको छ।”
प्रधानमन्त्री कार्कीले लोकतन्त्रमा मतपत्र केवल कागजको टुक्रा नभएर नागरिकको आत्मसम्मानको प्रतीक भएको उल्लेख गर्दै, नवनिर्वाचित जनप्रतिनिधिहरूलाई जनादेशको मूल्य र जिम्मेवारीको हेक्का राख्न आग्रह गरेकी छिन्। उनले कानुनी रूपमा पाँच वर्षको अवधि भए पनि जनताको विश्वास कायम रहनुपर्ने र यसको उल्लङ्घनले पदको अर्थ गुमाउने चेतावनी दिइन्।
महिला अधिकारका विषयमा बोल्दै उनले नेपालको संविधानले महिलाका हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराइन्। पछिल्ला दशकमा महिलाको सहभागिता बढे पनि अझै पूर्ण समानता, अवसर र सुरक्षा सुनिश्चित नभएको भन्दै उनले सबै महिलालाई असमानता र लैङ्गिक हिंसाविरुद्ध दृढताका साथ अघि बढ्न आह्वान गरिन्।
प्रधानमन्त्री कार्कीले समाजमा महिलाले पूर्ण सम्मान, सुरक्षा र समान अवसर प्राप्त नगरेसम्म लोकतन्त्र सुदृढ नहुने निष्कर्ष दिँदै, निर्वाचनपछिको नयाँ राजनीतिक परिवेशमा महिलाका मुद्दाहरूलाई प्राथमिकताका साथ अघि बढाउन संसद् र सरकारको ध्यानाकर्षण समेत गराएकी छिन्।
