चितवन – जिल्लाको कालिका नगरपालिका–९, दब्यटार भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, उपरदानगढीबाट शक्तिखोरतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–००१ ह ०३१५ नम्बरको अटो अनियन्त्रित भई नालामा पल्टिँदा दुर्घटना भएको हो।
दुर्घटनामा परी अटो चालक राप्ती नगरपालिका–९ का ३९ वर्षीय पूर्ण विक, राप्ती नगरपालिका–८ की ५६ वर्षीया विष्णुकुमारी तामाङ, राप्ती नगरपालिका–९ की २२ वर्षीया बिनि तामाङ, र सोही स्थानकी ५६ वर्षीया तिलक तामाङको उपचारका क्रममा भरतपुरस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए।
घाइतेमा परेकी राप्ती नगरपालिका–९ की ५३ वर्षीया चिनीकुमारी गुरुङको सोही अस्पतालमा उपचार भइरहेको छ।
