काठमाडौँ – सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार नरेन्द्र साह विजयी भएका छन्। उनले ४६,८९० मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टी का नारायणकाजी श्रेष्ठ (१३,३३८ मत) लाई झन्डै ३३ हजार मत अन्तरले पछि पार्दै ऐतिहासिक जीत हासिल गरे।
त्यस्तै, नेपाली कांग्रेस का विनोदप्रसाद खनाल ले ६,२२४ मत ल्याए भने नेकपा एमाले का पूर्वसांसद हरि उप्रेती ५,७७६ मतमा सीमित भए।
निर्वाचनमा पराजित भए पनि नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जालमार्फत मतदातालाई धन्यवाद दिँदै विजयी नरेन्द्र साहलाई हार्दिक बधाई र शुभकामना दिएका छन्। उनले आफ्नो निर्वाचन अभियान व्यक्तिगत पद वा स्वार्थका लागि नभएको स्पष्ट पारेका छन्।
श्रेष्ठले भने, “विजय भए संसदीय मोर्चाबाट काम गर्ने अवसर मिल्थ्यो, अहिले पराजित भए पनि फरक मोर्चाबाट देश र जनताको पक्षमा क्रियाशील रहनेछौँ। कम्तीमा दुई महिनामा एकपटक सर्लाही आउने र जनतासँग निरन्तर सम्पर्कमा रहने बाचा गर्दछु।”
उनले आफ्नो राजनीतिक जीवन राष्ट्रिय स्वाधीनता, संविधानको रक्षा र सामाजिक न्यायका लागि समर्पित रहने र सर्लाहीको विकास तथा जनताको अधिकारका लागि सधैं कार्यरत रहने प्रतिबद्धता पनि जनाए। साथै, उनले आफ्ना कार्यकर्तालाई क्रान्तिकारी अभिनन्दन गर्दै आगामी दिनमा एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्।
