उदयपुर – उदयपुर निर्वाचन क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पारशमणि गेलाल विजयी भएका छन्। उनले ३०,५९० मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टी का राजेशकुमार राई लाई पराजित गरेका हुन्। राईले यस क्षेत्रमा ११,६०६ मत मात्र प्राप्त गरे।
तेस्रो स्थानमा नेकपा का बलदेव चौधरी रहे, जसले १०,०२१ मत प्राप्त गरे। त्यस्तै, नेपाली कांग्रेस का विदुरबाबु बस्नेत ले ९,६७५ मत, र नेकपा एमाले का दुर्गाकुमार थापा ले ९,२०६ मत ल्याएका थिए।
व्यावसायिक पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका गेलालले पहिलो प्रयासमै चुनाव जित निकाल्न सफल भएका हुन्। चौदण्डीगढी नगरपालिका–९, ज्यामिरेमा २०४२ साल वैशाखमा जन्मिएका उनी शिक्षा, व्यवसाय र संगठनात्मक क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा परिचित छन्।
स्नातकोत्तर तहसम्म अध्ययन पूरा गरेका गेलाल शिक्षा र सामाजिक चेतनासँगै निजी क्षेत्रको व्यावसायिक नेतृत्वमा पनि आफ्नो पहिचान बनाएका छन्।
पार्टीमा उनी केन्द्रीय उद्योग तथा वाणिज्य विभागका सचिव र केन्द्रीय निर्वाचन रणनीति कार्यदलका सदस्यको जिम्मेवारीमा रहेका छन्।
