काठमाडौं – बिहीबार सम्पन्न निर्वाचनको परिणामले नेपाली राजनीतिको दिशा परिवर्तन गरेको निष्कर्ष निकाल्दै प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले पार्टीको गम्भीर समीक्षा र समग्र पुनर्गठन गर्ने घोषणा गरेको छ।
‘उन्नत विचारसहितको विकल्प’ भन्ने नारासहित गठन भएको प्रलोपाले निकट भविष्यमै आयोजना हुने समीक्षा र पुनर्गठन प्रक्रियामा सहभागी नभई व्यक्तिगत रूपमा कुनै पनि नयाँ राजनीतिक कदम नचाल्न आफ्ना सम्पूर्ण नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ।
पार्टीका अध्यक्ष सन्तोष परियार ले आइतबार जारी प्रेस विज्ञप्तिमा वर्तमान राजनीतिक अवस्थाको विश्लेषणसहित पुनर्गठनको जानकारी दिएका छन्। विज्ञप्तिमा गत फागुन २१ गते सम्पन्न निर्वाचनमा ठूलो सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई दिँदै जनमतको राष्ट्र र जनताको पक्षमा सदुपयोग हुने विश्वास व्यक्त गरिएको छ।
प्रलोपाले विज्ञप्तिमा औंल्याएको छ कि पुराना र स्थापित दलहरू विघटनको अवस्थामा पुगेको र नयाँ दलहरूले आफ्ना एजेन्डा जनतासम्म पुर्याउन नपाउँदै निर्वाचनमा भाग लिनुपरेको चुनौतीपूर्ण यथार्थ रहेको छ। गत मंसिर ७ गते मात्र पार्टी घोषणा गरेको र पुस १–२ गतेको प्रथम विस्तारित बैठकबाट संगठन निर्माण सुरु गरेको प्रलोपाले छोटो समयमै निर्वाचनमा भाग लिएको थियो। पार्टीले हार–जितभन्दा बढी संविधान, लोकतान्त्रिक अभ्यास र वर्तमान राजनीतिक व्यवस्थाप्रतिको प्रतिबद्धता कारण चुनावमा सहभागी भएको र समय अभावले संगठन तथा निर्वाचन तयारीमा कमीकमजोरी रहेको स्वीकार गरेको छ।
अध्यक्ष परियारको दावी अनुसार, प्रगतिशील लोकतान्त्रिक पार्टीको विचार, सिद्धान्त र कार्यक्रमको महत्त्व पछिल्लो राजनीतिक परिवर्तनले झन् प्रमाणित गरेको छ। पार्टीले आगामी दिनमा आफ्नो आवश्यकता अझ बढ्ने विश्वास लिएको र यही वस्तुगत परिस्थितिलाई मध्यनजर गर्दै समग्र पुनर्गठनको प्रक्रियामा प्रवेश गरेको विज्ञप्तिमा उल्लेख छ।
