काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेल ले ११६औँ अन्तरराष्ट्रिय महिला दिवस (८ मार्च) का अवसरमा महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद र उत्पीडनको अन्त्य गर्न आ–आफ्नो क्षेत्रबाट योगदान गर्न सबैलाई आह्वान गरेका छन्।
उनले परम्परागत खराब अभ्यास र प्रथाका कारण किशोरी तथा बालिकामाथि हुने शारीरिक तथा मानसिक हिंसा बढ्ने घटनालाई कम गर्न थप प्रभावकारी र सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको औँल्याए।
सन्देशमा राष्ट्रपति पौडेलले भने, “जनसङ्ख्याको आधा हिस्सा ओगटेका महिला सशक्त भएमा सिङ्गो परिवार, समाज र समग्र राष्ट्र नै समृद्धिको मार्गमा अगाडि बढ्ने हुँदा यसतर्फ विशेष ध्यान पुर्याउन जरूरी छ।”
उनले संविधानले अवलम्बन गरेको समानुपातिक समावेशी सिद्धान्त अनुसार राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक र शैक्षिक क्षेत्रसहित सबै क्षेत्रमा महिलाको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी, नीति निर्माण, निर्णय प्रक्रिया र राजनीतिजस्ता राज्यका हरेक क्षेत्रमा महिलाहरूको समान पहुँच सुनिश्चित हुनुपर्नेमा जोड दिए।
राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा भने, “यस दिवसले हामी सबैलाई महिलाहरूको हक, अधिकार, समानता, सशक्तीकरण तथा सम्मानप्रति पूर्ण संवेदनशील भई कार्य गर्न सबैमा थप ऊर्जा, उत्साह एवं प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु।”
अन्तरराष्ट्रिय महिला दिवस हरेक वर्ष ८ मार्चमा महिला अधिकार र लैङ्गिक समानता प्रवर्द्धनका लागि मनाइन्छ। यस वर्ष संयुक्त राष्ट्रसङ्घको आदर्श वाक्य “सबै महिला र बालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसर” अन्तर्गत यो दिवस मनाइरहेका छन्। विश्वभरि विभिन्न क्षेत्रमा कार्यरत महिलाहरूको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिला प्रविधिमा पहुँच विस्तार गर्ने, सशक्तीकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने, महिलालाई शिक्षित र आत्मनिर्भर बनाउने एवं उचित सम्मान सुनिश्चित गर्ने उद्देश्यसहित अन्तरराष्ट्रिय महिला दिवस मनाइँदैछ।
