समानुपातिक प्रणालीमा देशभर करिब २५ प्रतिशत मतगणना भइरहँदा पाँच राजनीतिक दल मात्र ‘राष्ट्रिय दल’ बन्ने दिशामा अग्रसर देखिएका छन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक प्रणालीमा आवश्यक ३ प्रतिशतको थ्रेसहोल्ड कटाएका छन्।
प्रतिनिधिसभामा राष्ट्रिय दल बन्न प्रत्यक्षतर्फ कम्तीमा एक सिट र समानुपातिकमा तीन सिट प्राप्त गर्नुपर्छ। रास्वपा, कांग्रेस र एमालेले आवश्यक मत प्रतिशत पुरा गरी राष्ट्रिय दलको मान्यता पाइसकेका छन्। अब बाँकी मत परिणाम आए पनि उनीहरूको राष्ट्रिय दलको दर्जा सुनिश्चित हुने छ।
नेपाल कम्युनिस्ट पार्टी ले हाल करिब ६.५ प्रतिशत मत पाएको छ। तर बाँकी मत परिणाम अनुसार उसले राष्ट्रिय दल बन्ने अवस्था निर्धारण हुनेछ। अनुमानअनुसार करिब एक करोड १० लाख मत खसेको अवस्थामा थ्रेसहोल्ड कटाउन कम्तीमा ३ लाख मत पाउनुपर्ने देखिन्छ। नेकपाले अहिलेसम्म करिब १ लाख ६६ हजार मत पाएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अहिले करिब ३.५ प्रतिशत मत (९१ हजार मत) पाएको छ। राष्ट्रिय दल बन्न उसले बाँकी क्षेत्रमा थप मत ल्याउनुपर्नेछ। यी दलहरूले राष्ट्रिय दलको मान्यता पाउन आवश्यक प्रत्यक्षतर्फको कम्तीमा एक सिट जितिसकेका छन्।
थ्रेसहोल्डको नजिक रहेको दल भने श्रम संस्कृति पार्टी नेपाल हो। अध्यक्ष हर्क साङ्पाङ सुनसरी–१ बाट अग्रता लिइरहेका छन्। तर समानुपातिक मतका आधारमा अहिले उसको मत २ प्रतिशत मात्रै रहेको छ, जसले राष्ट्रिय दलको मान्यता पाउन अझ बढी मत आवश्यक हुने देखिन्छ।
यसरी, वर्तमान मत गणनाअनुसार पाँच दल राष्ट्रिय दल बन्ने दिशामा अग्रसर छन्, जबकि बाँकी दलहरूको भाग्य बाँकी मत परिणाममा निर्भर हुनेछ।
