मकवानपुर — नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल ले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। पछिल्लो निर्वाचन परिणामपछि पार्टीभित्र गम्भीर आत्मसमीक्षा आवश्यक रहेको उल्लेख गर्दै उनले आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा घोषणा गरेका हुन्।
पोखरेलले नेकपा माले हुँदै एमालेसम्मको करिब ४५ वर्ष लामो राजनीतिक यात्रामा अहिले पार्टीले भोग्नुपरेको परिणामको वास्तविक कारण पहिचान गर्नुपर्ने बताएका छन्। समस्याको जरो नखोजी गोलमटोल भाषामा प्रतिक्रिया दिने तथा ईर्ष्या र घमण्डपूर्ण प्रवृत्तिले पार्टीलाई सही दिशामा लैजान नसक्ने उनको भनाइ छ।
उनले पार्टी नेतृत्वलाई पनि आत्मसमीक्षा गर्न आग्रह गर्दै आवश्यक परे जिम्मेवारी स्वीकार गरी राजीनामा दिनु पर्ने धारणा व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, “यो परिणामको वास्तविक कारण पहिचान गर्न नसकी गोलमटोल भाषामा मात्र व्यक्त हुने, ईर्ष्या र घमण्डपूर्ण प्रवृत्तिबाट समस्याको समाधान सम्भव हुँदैन। त्यसैले तलदेखि माथिसम्म सबैले आत्मसमीक्षा गरी आफ्नो–आफ्नो जिम्मेवारी ग्रहण गर्नुपर्ने आजको माग हो।”
उनले पार्टीलाई सही दिशामा अघि बढाउन पार्टी अध्यक्षदेखि महासचिवसम्म सबैले आत्मसमीक्षा गर्नुपर्ने उल्लेख गर्दै आवश्यक परे जिम्मेवारी लिएर राजीनामा दिँदै पार्टी पुनर्गठनका लागि बाटो खोल्नुपर्ने बताएका छन्।
पोखरेलले अब आउने युवा पुस्तालाई नेतृत्वको अवसर दिनुपर्ने धारणा व्यक्त गर्दै उनीहरूलाई आफ्नो पूर्ण साथ र सहयोग रहने बताएका छन्।
