काठमाडौँ — जापान सरकारले नेपाल मा मार्च ५ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको भन्दै स्वागत गरेको छ।
जापानी वैदेशिक मामिला मन्त्रालय का प्रेस सचिव कितामुरा तोशिहिरो ले जारी गरेको विज्ञप्तिमा कुनै ठूलो अप्रिय घटनाबिना मतदान सम्पन्न हुनुलाई सकारात्मक उपलब्धिका रूपमा लिइएको उल्लेख गरिएको छ।
नेपालको लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउन जापानले लामो समयदेखि सहयोग गर्दै आएको सन्दर्भमा यस निर्वाचनले थप उत्साह थपेको जापानको बुझाइ छ। निर्वाचनको सूक्ष्म अवलोकनका लागि जापानले संसदीय उप–परराष्ट्रमन्त्री सिमाडा तोमोआकी को नेतृत्वमा एक विशेष टोली नेपाल पठाएको थियो। उक्त टोलीले विभिन्न मतदान केन्द्रमा पुगेर स्थलगत अनुगमन गरेको थियो।
जापानी पर्यवेक्षक टोलीको प्रारम्भिक निष्कर्षअनुसार नेपालको निर्वाचन प्रक्रिया स्वतन्त्र, निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न भएको जनाएको छ। तोकिएका प्रक्रियाहरू पालना गर्दै मतदाताले उत्साहजनक रूपमा आफ्नो मताधिकार प्रयोग गरेको टोलीले उल्लेख गरेको छ।
नेपालमा लोकतन्त्रको सुदृढीकरणका लागि जापानले आगामी दिनमा पनि आफ्नो सहयोग निरन्तर रहने प्रतिबद्धता जनाएको छ। निर्वाचनपछि सुरु हुने नयाँ राजनीतिक प्रक्रिया सहज रूपमा अघि बढ्ने र यसले मुलुकको समग्र विकासमा टेवा पुग्ने अपेक्षा जापानले व्यक्त गरेको छ। साथै, दुई देशबीचको पुरानो र प्रगाढ सम्बन्धलाई ध्यानमा राख्दै नेपालको प्रजातान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउन आफूहरू सधैं तत्पर रहने जनाएको छ।
