चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनले पार्टीमाथि थप जिम्मेवारी सुम्पेको बताएका छन्। निर्वाचनपछि प्रतिक्रिया दिँदै उनले आगामी दिनमा रास्वपा अझ जिम्मेवार बन्नुपर्ने बताएका छन्।
लामिछानेले देशभर रास्वपालाई प्राप्त जितलाई केवल विजयको रूपमा नभई जनताले सुम्पिएको ठुलो जिम्मेवारीको रूपमा लिएको बताए। उनले भने,
“जनताले गरेको यो अपार माया र विश्वासले हामीलाई इतिहासकै सबैभन्दा बढी जिम्मेवारी दिएको महसुस गराएको छ। यो सामान्य कुरा होइन, यसले हामीलाई अझ जिम्मेवार र गम्भीर बनाएको छ।”
निर्वाचनमा आएको भारी मतान्तरलाई उनले परिवर्तनको स्पष्ट संकेतको रूपमा व्याख्या गरे। लामिछानेका अनुसार यसले जनताले पुरानो शैलीको राजनीतिबाट मुक्ति खोजेको र नयाँ विकल्पतर्फ आकर्षित भएको सन्देश दिएको छ।
उनले समर्थक र कार्यकर्तालाई जितको उन्मादमा नमात्तिन र विपक्षीहरूप्रति आक्रामक नहुने पनि आग्रह गरे। लोकतन्त्रमा फरक मतको सम्मान आवश्यक रहेको उल्लेख गर्दै उनले भने,
“हामी संयमित हुनुपर्छ, उत्तेजित हुनुहुँदैन। अब हाम्रा अभिव्यक्तिहरू अझ जिम्मेवार हुनुपर्छ। प्रतिपक्षलाई होच्याउने वा गाली गर्ने काम तत्काल बन्द गर्नुपर्छ। लोकतन्त्र भनेको फरक मतको सम्मान हो। अब गाली–गलौजभन्दा काम गरेर देखाउने समय आएको छ।”
लामिछानेले आफ्नो चुनावी वाचा पत्रमा उल्लेख गरिएका प्रतिबद्धता कार्यान्वयनमा केन्द्रित हुने पनि बताए। विशेषगरी सहकारी पीडितहरूको समस्या समाधान गर्ने र १०० दिनभित्र साना बचतकर्ताहरूको पैसा फिर्ता गर्ने प्रक्रिया सुरु गर्ने प्रतिबद्धता उनले दोहोर्याए।
उनले यो जीतमा नयाँ पुस्ताको ठूलो भूमिका रहेको उल्लेख गर्दै उनीहरूको आशा र भरोसालाई खेर जान नदिने दाबी गरे। लामिछानेले मुलुकलाई सुशासन र समृद्धिको बाटोमा लैजान रास्वपा सधैं प्रतिबद्ध रहने बताए।
