सुर्खेत — डोल्पा जिल्लामा बिहान रोकिएको मतगणना अझै सुरु भएको छैन। फर्जी मत खसेको आरोपका कारण मतगणना स्थगित गरिएको हो।
काइके गाउँपालिका–४ र ५ मा मतगणनाको क्रममा पाँच वटा मतपत्रमा मतदान अधिकृत र मतदाताको हस्ताक्षर नभएको अर्धकट्टी मतपत्र भेटिएको थियो। यससँगै सात वटा मतपत्रमा अर्धकट्टी मात्रै भेटिएको थियो। विवाद सुरु भएपछि मतगणना स्थगित गरिएको हो।
नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्री पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी र एक स्वतन्त्र उम्मेदवारले अनधिकृत मत प्रयोग भएको भन्दै विरोध जनाएका छन्। उनीहरूले मुख्य निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा पुनः मतदानको माग गर्दै उजुरी पनि दिएका छन्।
डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले सर्वदलीय बैठकमा मतगणना सुरु गर्ने विषयमा छलफल भइरहेको जानकारी दिइन्। उनले भनिन्,
“निवेदकहरूले माग गरेअनुसार मुख्य निर्वाचन अधिकृतले निर्वाचन आयोगसँग राय मागिरहेकाले सर्वदलीय बैठकमा ढिलाइ भइरहेको छ।”
