काठमाडौँ — प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएपछि नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीका गल्ती र कमजोरीहरूको गम्भीर समीक्षा गर्ने र जनअपेक्षाअनुसार आफूलाई रूपान्तरण गर्ने दाबी गरेका छन्।
रुपन्देही–२ मा पराजित भएपछि सामाजिक सञ्जालमार्फत उनले बताएका छन् कि एमालेको नीति, नेतृत्व, सङ्गठन र कार्यशैलीलाई जनअपेक्षाअनुसार पुनर्गठन गर्न अग्रसरता लिनेछन्।
पौडेलले भने,
“विगतमा हाम्रा तर्फबाट भएका गल्ती कमजोरीहरूको गम्भीर समीक्षा गर्न, जनअपेक्षा अनुसार आफैँलाई रूपान्तरण गर्न र नेकपा (एमाले) को नीति, नेतृत्व, सङ्गठन र कार्यशैलीलाई जनअपेक्षाअनुसार पुनर्गठन गर्न अग्रसरता लिने र अविचलित भएर जनता र राष्ट्रको सेवामा समर्पित भइरहने प्रतिबद्धता व्यक्त गर्दछु।”
उनले लोकतन्त्रको सुन्दरता जनताको अभिमतमा रहेको भन्दै रुपन्देही–२ का मतदाताको निर्णय सविनय र सहर्ष स्वीकार गरेको बताए।
निर्वाचनमा हार र जित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै पौडेलले रुपन्देही, विशेषगरी क्षेत्र–२ लाई केवल निर्वाचन क्षेत्र मात्र नभई आफ्नो कर्मभूमि ठानेको बताएका छन्। उनले भने,
“यो मेरो जीवनको अभिन्न हिस्सा र मेरो कर्मभूमि हो। यो माटोको माया र यहाँका जनताको स्नेह मेरो लागि पद र शक्तिभन्दा धेरै माथि र अमूल्य छ। म पदमा रहूँ वा नरहूँ, रुपन्देहीको विकास र यहाँका दाजुभाइ, दिदीबहिनीहरूको सुख–दुःखमा मेरो साथ र सक्रियता निरन्तर रहनेछ। यस क्षेत्रको समृद्धिका लागि मैले देखेका सपनाहरू र अघि बढाएका योजनाहरूलाई सार्थक तुल्याउन म आफ्नो ठाउँबाट सदैव लागिरहने छु।”
