गुल्मी क्षेत्र नम्बर १ बाट जित सुनिश्चित गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकालले जनताले दिएको अभूतपूर्व माया र मतलाई जिम्मेवारीको अवसरका रूपमा लिएको बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले अबको समय उत्सव मनाउनेभन्दा काम गरेर देखाउने बेला भएको उल्लेख गरेका छन्।
ढकालले विजय र्यालीभन्दा परिणाम देखाउने र्यालीलाई प्राथमिकता दिने बताए। निर्वाचनको परिणामसँगै उनले फिल्डमा कामको सुरुवात गरिसकेका छन्। मतगणना चलिरहँदा नै उनले अलपत्र अवस्थामा रहेको सिँचाइ योजना निरीक्षण गरी समाधान निकाल्ने पहल सुरु गरेको जानकारी दिए।
उनका अनुसार आगामी दिनमा नीतिगत तहबाट नयाँ पहलहरू सुरु हुनेछन् र अबको पाँच वर्ष गफभन्दा परिणामले नै बोल्ने समय हुनेछ। जनताले राखेको विश्वासलाई उपलब्धिमा रूपान्तरण गर्नु नै उनका मुख्य लक्ष्य हुन्। ढकालले अब रातदिन मेहनत गरेर देशमा सकारात्मक परिवर्तन ल्याउने अठोट व्यक्त गरेका छन्।
विजयी वा पराजित जोसुकै भए पनि कसैलाई राजनीतिक आधारमा भेदभाव नगर्ने प्रतिबद्धता उनले दोहोर्याए। जुनसुकै पार्टीमा आबद्ध भए पनि सबैलाई समान व्यवहार र माया गर्ने ढकालले बताए।
ढकालले मतदाता र शुभेच्छुकहरूसँग फूलमाला, अबिर वा प्रशंसाभन्दा काम दिन आग्रह गर्दै भने, “हाम्रो देश नेपालका लागि हामी सबै नेपाली हुनुपर्छ।”
