काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ले राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन्। काठमाडौँ–१ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएपछि मिश्रले सामाजिक सञ्जालमार्फत तत्कालका लागि राजनीतिबाट हट्ने निर्णय सार्वजनिक गरेका हुन्।
मिश्रले विज्ञप्तिमा उल्लेख गरेका छन् कि पार्टीको वरिष्ठ उपाध्यक्षको हैसियतमा राजसंस्था पुनर्स्थापनाको जनमतलाई सङ्गठित गर्न नसकेकोमा जिम्मेवारी आफैंले लिएको हो। उनले लेखेका छन्,
“मैले आज जे निर्णय लिँदैछु, त्यो कुनै निराशा, हताश या हतारमा लिँदै छैन। धेरै सोचविचार गरेर लिइएको निर्णय हो।”
उनले पार्टीभित्र विविध कारणले जनमतलाई पूर्ण रूपमा सङ्गठित गर्न नसक्दा विफल भएको स्वीकार्दै, देशको बदलिँदो भूराजनीति र आन्तरिक परिस्थितिलाई ध्यानमा राख्दै भावी पुस्ताका लागि देश बचाउन नसकिने निष्कर्षमा पुगेको बताएका छन्।
मिश्रले गैरदलीय (स्वतन्त्र) राजनीति, राजसंस्था पुनर्स्थापना र सुशासन सम्बन्धी अडान यथावत रहने पनि स्पष्ट पारेका छन्।
उनले आफ्नो ९ वर्षे राजनीतिक यात्रा सम्झँदै देश–विदेशमा रहेका समर्थक, पार्टी नेता र साथीहरूप्रति आभार व्यक्त गरेका छन्। मिश्रले व्यक्तिगत स्वार्थभन्दा माथि देशको हितलाई प्राथमिकता दिने प्रतिबद्धता दोहोर्याएका छन्।
