गोरखा जिल्ला — प्रतिनिधिसभा निर्वाचन अन्तर्गत गोरखा क्षेत्र नम्बर–१ को उत्तरी भागमा पर्ने चुमनुब्री गाउँपालिका का सबै मतपेटिका आज सदरमुकाममा ल्याइएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा का अनुसार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत बाँकी १४ वटा मतदान केन्द्र को मतपेटिका पनि सदरमुकाममा पुगेको छ।
चुमनुब्री गाउँपालिका भित्र:
वडा नं. २ – ल्हो
वडा नं. ३ – सिर्दिबास
वडा नं. ४ – प्रोक
वडा नं. ५ – विही
भौगोलिक विकटताका कारण २३ वटा मतदान केन्द्रका मतपेटिका हेलिकप्टरबाट ल्याउनु पर्ने बाध्यता थियो।
सहायक प्रमुख जिल्ला अधिकारी शर्मा भन्छन्,
“हिजो नै ती मतपेटिका ल्याउने तयारी भए पनि मौसम खराबीका कारण सकिएको थिएन। आज बिहान मौसम खुलेसँगै सेनाको हेलिकप्टरले बाँकी सबै मतपेटिका सदरमुकाममा ल्याएको हो।”
यसअघि शुक्रबार नौ वटा मतदान केन्द्रका मतपेटिका हेलिकप्टरमार्फत ल्याइसकिएको थियो। गोरखा–१ को मतपेटिका सङ्कलन कार्य पूरा भएसँगै आजै मतगणना अगाडि बढाउने तयारी भइरहेको छ।
