महोत्तरी जिल्ला — प्रतिनिधिसभा निर्वाचन अन्तर्गत महोत्तरी क्षेत्र नम्बर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार प्रमोद कुमार महतो प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
महतोले ३४ हजार ६३६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी गिरिराजमणि पोखरेल ले ६२४ मत प्राप्त गरेका छन्।
विजयपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महतोले यो जित व्यक्तिगत नभई जनताको परिवर्तनको जित भएको बताएका छन्। उनले क्षेत्रका ३० वटै वडाका मतदातालाई धन्यवाद दिँदै जनताको विश्वासलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरे।
उनले भने, “यस क्षेत्रमा एक लाखभन्दा बढी मतदाता छन्। म सबै जनताको दुःख–सुखमा साथ दिनेछु र जनताको अपेक्षाअनुसार काम गर्नेछु।”
महतोले विशेषगरी कृषि क्षेत्रको विकास र बेरोजगारी समस्या समाधानलाई आफ्नो प्राथमिकतामा राख्ने बताएका छन्। साथै, क्षेत्र नम्बर–१ मा देखिएको क्रसर (crusher) समस्या अन्त्य गर्न पहल गर्ने पनि उनले बताएका छन्।
त्यसैगरी चुरे क्षेत्र मा भइरहेको प्राकृतिक दोहनप्रति चिन्ता व्यक्त गर्दै यसको संरक्षणका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता पनि उनले जनाए।
“म जनताको छोरा हुँ। जसरी एउटा छोरालाई आफ्नो परिवारप्रति माया हुन्छ, त्यसैगरी मलाई आफ्नो क्षेत्रप्रति माया छ। यदि हामी जनताको विश्वासमा खरो उत्रिन सकेनौँ भने जनताले हामीलाई पनि अस्वीकार गर्नेछन्,” महतोले भने।
