वासिङ्टन – संयुक्त राज्य अमेरिकाले रुसमाथि लगाइएका आर्थिक प्रतिबन्धबीच विश्व ऊर्जा बजारमा सम्भावित अवरोध कम गर्ने उद्देश्यले रुसी तेल भारतलाई बिक्री गर्न अस्थायी अनुमति दिएको छ।
अमेरिकी सरकारले सार्वजनिक गरेको निर्णयअनुसार सीमित समयका लागि प्रतिबन्धमा आंशिक छुट दिइएको समाचार संस्था एएफपीले जनाएको छ।
विदेशी सम्पत्ति नियन्त्रण कार्यालय (OFAC)ले जारी गरेको विशेष इजाजतपत्रमार्फत हिजोसम्म जहाजमा लोड गरिएको रुसी कच्चा तेल तथा पेट्रोलियम पदार्थ भारतमा पु¥याएर बिक्री गर्न अनुमति दिइएको अमेरिकी अर्थ मन्त्रालयले जनाएको छ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले विश्व बजारमा तेलको आपूर्ति निरन्तर राख्ने उद्देश्यले यो अस्थायी छुट दिइएको बताउनुभएको छ। उहाँका अनुसार यो निर्णयले रुसी सरकारलाई ठूलो आर्थिक लाभ पुग्ने सम्भावना छैन, किनकि अनुमति समुद्रमा पहिले नै रोकिएको तेलसँग सम्बन्धित सीमित कारोबारमा मात्र लागू हुनेछ।
बेसेन्टका अनुसार भारतलाई गरिने बिक्रीले इरानले विश्व ऊर्जा आपूर्तिमा दबाब सिर्जना गर्ने प्रयासबाट उत्पन्न तनाव कम गर्न सहयोग पुग्नेछ।
यसअघि डोनाल्ड ट्रम्प प्रशासनले गएको नोभेम्बरमा रुसी तेल कम्पनी लुकोइल र रोजनेफ्टमाथि कडा प्रतिबन्ध घोषणा गरेको थियो। ती प्रतिबन्धपछि रुसी तेलका प्रमुख खरिदकर्ताहरूले वैकल्पिक आपूर्तिकर्ता खोज्ने प्रयास तीव्र बनाएका थिए।
ऊर्जा बजारमा अनिश्चितता बढेसँगै विभिन्न देशहरूले वैकल्पिक आपूर्ति मार्ग र स्रोतको खोजीलाई तीव्र बनाएका छन्।
