विराटनगर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङका जिल्ला सदस्य दुर्गा रेग्मीको मोरङ क्षेत्र नम्बर–२ को मतगणना स्थलमै हृदयघातका कारण मृत्यु भएको छ।
मतगणना स्थलमा उपस्थित रहेका रेग्मी अचानक बिरामी परेपछि उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो। तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। बिहानदेखि सुरु भएको मतगणनाको केही समयपछि उनी अचानक ढलेका थिए।
घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटुवालले मतगणना स्थलमै ढलेका रेग्मीको निधन भएको पुष्टि गरे।
मतगणनामा सहभागी हुन पुगेका रेग्मीको अचानक निधन भएपछि त्यहाँ उपस्थित राजनीतिक दलका प्रतिनिधि तथा सुरक्षाकर्मीहरू स्तब्ध बनेका छन्।
रेग्मी रास्वपा मोरङका सक्रिय जिल्ला सदस्यका रूपमा पार्टीका विभिन्न गतिविधिमा संलग्न रहँदै आएका थिए।
