नेपालमा बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा भारतले बधाई दिएको छ। भारतले निर्वाचनमा नेपाली नागरिकले उत्साहजनक सहभागितासहित आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गरेको भन्दै स्वागत गरेको हो।
भारतीय विदेश मन्त्रालयले जारी गरेको प्रेस नोटमा हालैका असाधारण परिस्थितिका बाबजुद नेपालमा निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा प्रशंसा गरिएको छ। नोटमा प्रधानमन्त्री सुशीला कार्की, नेपाल सरकार, नेपाली जनता तथा निर्वाचनमा संलग्न सबै सरोकारवालालाई बधाई दिइएको छ।
प्रेस नोटमा भनिएको छ, “उत्साहजनक सहभागितासहित नेपालका नागरिकले आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्दै सफलतापूर्वक निर्वाचन सम्पन्न गराएको कार्यको हामी स्वागत गर्दछौँ।”
भारतले नेपालमा शान्ति, प्रगति र स्थायित्वका लागि निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै यस निर्वाचनका लागि नेपाल सरकारको अनुरोधमा आवश्यक बन्दोबस्ती तथा लजिस्टिक सामग्री उपलब्ध गराएको पनि जनाएको छ।
साथै भारतले दुई देशबीचको ऐतिहासिक, बहुआयामिक र मित्रवत सम्बन्धलाई अझ सुदृढ बनाउँदै आपसी हितका लागि नेपालमा बन्ने नयाँ सरकारसँग मिलेर काम गर्न तयार रहेको जनाएको छ।
