काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ को मतगणना आजै रातिबाट सुरु हुने भएको छ। बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि बसेको सर्वदलीय बैठकले रातिबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो।
काठमाडौं–३ की निर्वाचन अधिकृत चमिला भट्टराई का अनुसार सर्वदलीय बैठक सम्पन्न भइसकेकाले केहीबेरमै मतगणना प्रक्रिया सुरु गर्ने तयारी भइरहेको छ।
उनले मतगणनाका लागि आवश्यक सबै व्यवस्थापन पूरा भइसकेको जानकारी दिँदै निर्वाचनमा खटिएका कर्मचारी तथा सुरक्षा निकायको समन्वयमा गणना प्रक्रिया अघि बढाइने बताइन्।
काठमाडौं–३ मा बिहीबार शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको थियो। अब रातिबाट मतगणना सुरु भएसँगै मतपरिणाम क्रमशः सार्वजनिक गरिने निर्वाचन कार्यालयले जनाएको छ।
