काठमाडौँ — प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा आकस्मिक स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै Nepal Red Cross Society काठमाडौँ जिल्ला शाखाले ३० मतदान केन्द्र परिसरमा प्राथमिक उपचार स्वयंसेवक परिचालन गर्ने भएको छ।
काठमाडौँ महानगरपालिकासहित अन्य १० पालिकाका विभिन्न मतदान केन्द्रमा प्रत्येक केन्द्रमा चार–चार जना स्वयंसेवक खटाइने जनाइएको छ। यसका अतिरिक्त शाखाले एम्बुलेन्ससहित सात सदस्यीय अलग टोली पूर्वतयारी अवस्थामा राखेको छ, जसले आवश्यक परे तत्काल उद्धार तथा स्वास्थ्य सेवा प्रदान गर्नेछ।
जिल्ला शाखाका सभापति श्यामकाजी डोटेलका अनुसार मतदान केन्द्रमा आकस्मिक स्वास्थ्य समस्या आउन सक्ने सम्भावनालाई ध्यानमा राखी प्राथमिक उपचार सामग्रीसहित स्वयंसेवक परिचालनको तयारी गरिएको हो।
यस प्रयोजनका लागि स्वयंसेवकहरूलाई अभिमुखीकरणसमेत प्रदान गरिएको थियो। कार्यक्रममा प्राथमिक उपचार पुनर्ताजगी, सुरक्षित पहुँच, मनोसामाजिक सहयोग तथा मनोवैज्ञानिक प्राथमिक उपचारसम्बन्धी सैद्धान्तिक र प्रयोगात्मक कक्षा सञ्चालन गरिएको शाखाले जनाएको छ।
रेडक्रसले निर्वाचन अवधिभर मानवीय सेवाका गतिविधि प्रभावकारी रूपमा सञ्चालन गर्दै नागरिकको स्वास्थ्य सुरक्षामा सहयोग पुर्याउने जनाएको छ।
