काठमाडौँ — गृह मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। बुधबार बिहान मन्त्रालयमा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग भर्चुअल बैठक (जुम) आयोजना गरी निर्वाचन सुरक्षा र व्यवस्थापकीय तयारीबारे समीक्षा गरिएको हो।
गृह सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा मन्त्रालयका उच्च अधिकारी तथा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी सहभागी भएका थिए। करिब तीन घण्टा चलेको छलफलमा निर्वाचन तयारी, सुरक्षा व्यवस्थापन, संवेदनशील क्षेत्रको अवस्था तथा केन्द्र–जिल्ला समन्वयका विषयमा विस्तृत समीक्षा गरिएको मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यले जानकारी दिइन्।
उनका अनुसार सबै जिल्लाबाट निर्वाचनको आवश्यक तयारी पूरा भएको र शान्ति–सुरक्षाको अवस्था सामान्य रहेको जानकारी गराइएको छ। बैठकमा निर्वाचनका दिन अपनाउनुपर्ने सतर्कता, सुरक्षा संवेदनशीलता र आकस्मिक अवस्थाको व्यवस्थापनबारे रणनीति तय गरिएको जनाइएको छ।
गृह सचिव श्रेष्ठले निर्वाचन सुरक्षालाई अझ मजबुत र प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन्। साथै सबै सुरक्षा निकाय, कर्मचारी र निर्वाचन सामग्री मतदान केन्द्रमा समयमै पुगेको जानकारी बैठकमा प्रस्तुत गरिएको मन्त्रालयले जनाएको छ।
