बागलुङ — बागलुङ–२ अन्तर्गत गलकोट नगरपालिका–१० रमुवा आधारभूत विद्यालयस्थित मतदान केन्द्रमा खटिएका मतदान अधिकृत प्रकाश गैरेको जिम्मेवारी खोसिएको छ। मतदान अधिकृतहरूको ह्वाट्सएप समूहमा अनुचित अभिव्यक्ति दिएको भन्दै उनलाई पदबाट हटाइएको क्षेत्र नम्बर–२ का निर्वाचन अधिकृत भीमप्रसाद सुवेदीले जानकारी दिए।
उनका अनुसार गैरेको अभिव्यक्ति र गतिविधिले निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतामा नकारात्मक असर पार्न सक्ने देखिएपछि यस्तो निर्णय गरिएको हो। निर्वाचन अधिकृतको कार्यालयले औपचारिक पत्र पठाउँदै गैरेलाई जिम्मेवारीबाट मुक्त गरेको छ।
पत्रमा मतदान अधिकृतले गर्न नहुने प्रकृतिका गतिविधि गरेको उल्लेख गर्दै उनको जिम्मामा रहेका मतपत्र तथा अन्य निर्वाचन सामग्री तत्काल सुरक्षा निकायलाई बुझाउन र निर्वाचन अधिकृतको कार्यालयमा सम्पर्क गर्न निर्देशन दिइएको छ।
कार्यालयका अनुसार उक्त निर्णयबारे Election Commission of Nepal, मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङ, जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय तथा अन्य सम्बन्धित निकायलाई जानकारी गराइएको छ।
गैरेको स्थानमा भुवनबहादुर कुँवरलाई नयाँ मतदान अधिकृतका रूपमा खटाइएको निर्वाचन अधिकृत सुवेदीले बताएका छन्।
