झापा — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा कारागारमा रहेका कैदीबन्दीहरूका लागि कारागारभित्रै अस्थायी मतदान केन्द्रको व्यवस्था गरिएको छ।
कारागार प्रमुख रेवन्त भट्टराईका अनुसार मतदाताको अन्तिम नामावलीमा नाम समावेश भएका कैदीबन्दीहरूले सोही केन्द्रबाट मतदान गर्न पाउनेछन्। हाल झापा कारागारमा १ हजार ६६२ जना कैदीबन्दी रहेका छन्।
जिल्लामा कुल तीनवटा अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ। अन्य दुई अस्थायी मतदान केन्द्र भने निर्वाचनमा प्रत्यक्ष रूपमा खटिन नपाएका सुरक्षाकर्मी र कर्मचारीहरूका लागि व्यवस्था गरिएको जनाइएको छ।
निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन आवश्यक तयारी पूरा गरिएको सम्बन्धित निकायले जनाएको छ।
