भैरहवा — प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले लगाइएको मदिरा बिक्रीवितरण निषेध आदेश उल्लङ्घन गरेको आरोपमा रुपन्देही प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार अनुगमनका क्रममा मंगलबार रातिसम्म जिल्लाका विभिन्न स्थानबाट चारवटा मदिरा पसल सिल गरिएको छ। साथै मदिरा बिक्रीवितरण तथा ओसारपसारमा संलग्न ११ जनालाई पक्राउ गरिएको उनले बताए।
प्रहरीले सिद्धार्थनगर नगरपालिका–६ बुद्धचोकस्थित एक रेष्टुरेन्टबाट सञ्चालकसहित नौ जनालाई नियन्त्रणमा लिएको जनाएको छ। त्यस्तै मायादेवी गाउँपालिका–५ गोनाहा चोकस्थित मदिरा पसलबाट ‘दामी’ र ‘इश्क’ नाम लेखिएका ११० बोतल मदिरा बरामद गरिएको छ।
यस्तै शुद्धोधन गाउँपालिका–७ भगलापुर र वडा नं. ३ सियाभारस्थित रेष्टुरेन्टबाट दुई जना सञ्चालकलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। निषेधित अवधिमा मदिराको कारोबार गरेको पाइएपछि सम्बन्धित पसलहरू सिल गरिएको जनाइएको छ।
जिल्लाभर मदिरा नियन्त्रणका लागि विशेष टोली परिचालन गरी अनुगमन कडा पारिएको प्रहरीले जनाएको छ। स्थानीय प्रशासनले निर्वाचन अवधिभर सबै प्रकारका मदिराजन्य पदार्थको बिक्रीवितरण तथा सार्वजनिक स्थानमा सेवन पूर्ण रूपमा निषेध गरेको छ।
निषेध आदेश उल्लङ्घन गर्ने व्यक्तिलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिँदै प्रहरीले निर्वाचन आचारसंहिता विपरीत गतिविधिमा संलग्नहरूमाथि निगरानी जारी रहेको र निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन आवश्यक कदम सशक्त रूपमा अघि बढाइने जनाएको छ।
