काठमाडौँ — सर्लाहीको हरिपुर्वा नगरपालिका–२ हरिपूर्वा गाउँबाट सशस्त्र प्रहरीले मौन अवधिमा नगद बोकेर हिँडिरहेका एक पूर्व वडाअध्यक्षलाई पक्राउ गरेको छ।
सर्लाही क्षेत्र नम्बर–२ को निर्वाचन सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको स्ट्राइकिङ फौजले ६५ वर्षीय पुरुषोत्तम यादवलाई नियन्त्रणमा लिएको हो। टोलीका इन्स्पेक्टर सुजन रानाभाटको नेतृत्वमा उनलाई पक्राउ गरी थप कारबाहीका लागि स्थानीय प्रहरीलाई बुझाइएको जनाइएको छ।
सशस्त्र प्रहरीले यादवको साथबाट २५ हजार रुपैयाँ नगद बरामद गरेको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले जानकारी दिएका छन्।
यादव यसअघि Nepali Congressबाट वडाअध्यक्ष निर्वाचित भएका थिए। हाल उनी राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालमा आबद्ध रहेको जनाइएको छ।
