पर्सा । Parsagadhi नगरपालिका–३ बडनियार चोकमा प्रहरीले चेकजाँचका क्रममा नेकपा उम्मेदवार सवार गाडीबाट शंकास्पद वस्तु फेला पारेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सोमबार राति करिब ११ बजे नियमित जाँचका क्रममा पर्सा क्षेत्र नम्बर–२ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार मनोजकुमार चौधरी सवार बा १० च १२५० नम्बरको गाडी रोकी जाँच गरिएको थियो।
प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार गाडीको डिक्कीमा टिनको बाकसभित्र खैरो टेपले बेरिएको र कालो तथा रातो तार बाहिर निकालिएको अवस्थामा बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको हो।
घटनापछि प्रहरीले उम्मेदवार चौधरीसहित गाडीमा सवार चार जनालाई नियन्त्रणमा लिएको छ। गाडीमा चौधरीसँगै पर्सागढी नगरपालिकाका नगर प्रमुखका प्रत्यासी सत्यनारायण दास र सुरज कार्की रहेका थिए भने चालक वीरगञ्ज–छपकैया निवासी शेख मुन्ना अन्सारी रहेको प्रहरीले जनाएको छ।
नेकपाका केन्द्रीय सदस्य बृजलाल पासवानका अनुसार होलीको अवसरमा कार्यकर्ता भेटघाटका लागि क्षेत्र भ्रमणका क्रममा प्रहरीले गाडी जाँच गरेको थियो।
शंकास्पद वस्तु फेला परेपछि गाडीलाई सुरक्षित स्थानमा राखिएको छ। मंगलबार बिहान नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकले जानकारी दिएका छन्।
