कुवेत । Kuwaitमा अमेरिका, इजरायल र इरानबीच जारी भीषण युद्धको प्रभाव देखिन थालेको छ। क्षेत्रीय तनावका बीच राजधानीस्थित एक आवासीय क्षेत्रमा खसेको क्षेप्यास्त्रको छर्रा लागेर एक बालिकाको ज्यान गएको पुष्टि भएको छ।
कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार घटनामा गम्भीर घाइते भएकी ती बालिकाको उपचारका क्रममा मृत्यु भएको हो। मन्त्रालयका प्रवक्ता डा. अब्दुल्लाह अल–सुन्दले विज्ञप्ति जारी गर्दै चिकित्सकहरूले बालिकाको ज्यान जोगाउन हरसम्भव प्रयास गरे पनि सफल हुन नसकेको जानकारी दिएका छन्।
मध्यपूर्वमा पछिल्लो समय चर्किएको त्रिपक्षीय सैन्य टकरावका कारण कुवेतको सुरक्षा अवस्थासमेत चुनौतीपूर्ण बन्दै गएको छ। इरान र अमेरिकी गठबन्धनबीच जारी हवाई आक्रमणका क्रममा खसेका भग्नावशेष र छर्राले सर्वसाधारण नागरिक प्रभावित हुन थालेका छन्।
द्वन्द्व सुरु भएयता कुवेतमा मात्रै कम्तीमा तीन जनाको मृत्यु भइसकेको सरकारी तथ्यांकमा उल्लेख छ। आवासीय क्षेत्रमा यसरी घातक वस्तु खस्न थालेपछि स्थानीय बासिन्दा तथा आप्रवासी समुदायमा त्रास फैलिएको छ।
सरकारले राजधानी क्षेत्रसहित संवेदनशील स्थानका बासिन्दालाई सतर्क रहन र आपतकालीन निर्देशनहरूको पालना गर्न आग्रह गरेको छ।
