काठमाडौँ । सर्वोच्च अदालतले दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको छ।
मंगलबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले प्रसाईंलाई पक्राउ गर्नुको कारण लिखित रूपमा पेस गर्न आदेश दिएको हो।
भक्तपुरस्थित निवासबाट सुरक्षाकर्मीले पक्राउ गरेपछि प्रसाईंका तर्फबाट अधिवक्ता सुरेश बोहराले जिल्ला प्रशासन कार्यालय भक्तपुर र जिल्ला प्रहरी कार्यालय भक्तपुरलाई विपक्षी बनाई रिट दायर गरेका थिए।
गत आइतबार जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रसाईंलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो। यसअघि विद्युतीय अपराध मुद्दामा पक्राउ परेका उनी माघ २५ गते हाजिर जमानीमा रिहा भएका थिए। तर फागुन ४ मा पुनः पक्राउ परेका प्रसाईंमाथि निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न रहेको आरोप लगाइएको थियो।
यसअघि सर्वोच्च अदालतकै न्यायाधीश मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासको आदेशमा उनी फागुन १३ मा रिहा भएका थिए। सर्वोच्चको आदेशबाट छुटेको चार दिनमै उनलाई पुनः पक्राउ गरिएको हो।
पछिल्लो समय निर्वाचन प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको आशंकामा प्रशासनले उनलाई पटक–पटक पक्राउ गर्ने र अदालतको आदेशमा रिहा हुने क्रम जारी रहेको छ।
