धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भएको छ। निर्वाचन आयोगले सोमबार उनको उम्मेदवारी खारेज गरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए।
धनुषा–१ का निर्वाचन अधिकृत मनोज बरालका अनुसार कमलविरुद्ध दाबी–विरोधको समयमा उजुरी परेपछि निर्णयका लागि विषय आयोगमा पठाइएको थियो। “दाबी–विरोधको समयमा आएको उजुरीमा कार्यालयले नै निर्णय गर्ने व्यवस्था हुन्छ। तर उजुरीको प्रकृति गम्भीर भएकाले आयोगमा पठाएका थियौं,” उनले भने, “उहाँलाई कालोसूचीमा राखिएको भन्ने विषय उठेको छ। यसबारे आयोगको लिखित निर्णय कुरिरहेका छौं।”
यस क्षेत्रबाट अन्य दलका उम्मेदवारमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का रामचन्द्र मण्डल, नेपाली कांग्रेस का रामपलटन साह, नेपाल कम्युनिस्ट पार्टी का मातृका प्रसाद यादव, जनता समाजवादी पार्टी का दीपक कार्की तथा जनमत पार्टी का ब्रहमदेव महतो रहेका छन्।
