काठमाडौँ — प्रतिनिधिसभा सदस्य निर्वाचन बिथोल्ने उद्देश्यले गतिविधि गर्ने समूहविरुद्ध नेपाल प्रहरीले निगरानी र कारबाही तीव्र बनाएको छ। प्रहरी प्रधान कार्यालयले निर्वाचन सुरक्षा तथा विश्लेषण महाशाखा गठन गरी त्यस्ता गतिविधिमाथि निगरानी र विश्लेषण गरिरहेको जनाएको छ।
कार्य विभागअन्तर्गत गठन गरिएको उक्त महाशाखाको नेतृत्व प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दयानिधि ज्ञवालीले गरिरहेका छन्। प्रहरीका अनुसार निर्वाचन बिथोल्न सक्रिय समूहहरूको गतिविधि सूक्ष्म रूपमा अध्ययन भइरहेको छ।
प्रहरीको विश्लेषणअनुसार राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंसहित ६ वटा समूह हाल निर्वाचन विरोधी गतिविधिमा सक्रिय छन्। प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार प्रसाईंसहित ७६ जनालाई पक्राउ गरिएको छ।
निर्वाचन विरोधी गतिविधिमा संलग्न आशंकामा हालसम्म १४२ जनालाई पक्राउ गरिएकोमा अदालतको आदेशपछि ६६ जना रिहा भइसकेका छन्। फागुन १८ गते मात्र ९ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले प्रसाईं समूह, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) (धर्मेन्द्र बास्तोला नेतृत्व), वैज्ञानिक समाजवादी पार्टी (आहुति नेतृत्व), मङ्गोल नेशनल अर्गनाइजेशन तथा पहिचानको आन्दोलनमा सक्रिय समूहहरू निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको जनाएको छ। बहुमतका महासचिव धर्मेन्द्र बास्तोला पक्राउ परेर रिहा भइसकेका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदान स्थल निर्धारण गरिएको छ। सुरक्षाको दृष्टिकोणले मतदान स्थललाई तीन श्रेणीमा वर्गीकरण गरिएको छ। सुरक्षा चुनौती न्यून रहेका स्थललाई ‘सामान्य’ श्रेणीमा राखिएको प्रहरीले जनाएको छ।
