सुनसरी — सामाजिक सञ्जाल फेसबुकमार्फत निर्वाचनसम्बन्धी झुटो अफवाह फैलाएको आरोपमा सुनसरी जिल्ला प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा इनरुवा नगरपालिका–३ महेन्द्रचोक निवासी २७ वर्षीय रामचन्द्र ठाकुर रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार ठाकुरले ‘रामचन्द्र ठाकुर’ नामक फेसबुक आईडी प्रयोग गरी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई प्रत्यक्ष प्रभाव पार्ने उद्देश्यले भिडियो अपलोड तथा सेयर गरेका थिए।
नेपाल प्रहरी साइबर ब्युरो, काठमाडौँको प्राविधिक सहयोगमा उनलाई इनरुवा–स्थित महेन्द्रचोकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। अफवाह फैलाउन प्रयोग गरिएको मोबाइल डिभाइससमेत बरामद गरिएको छ।
पक्राउ परेका ठाकुरलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिएका छन्।
