महेन्द्रनगर — कञ्चनपुर जिल्लामा छुट्टाछुट्टै घटनामा निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ।
पुनर्बास नगरपालिकामा खटिएका ३५ वर्षीय निर्वाचन प्रहरी मानसिंह रानाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए। लालझाडी गाउँपालिका–३ बल्मी घर भएका राना पुनर्बास–९ सिताबस्तीस्थित जीवनशक्ति आधारभूत मतदानस्थलमा ड्युटीमा खटिएका थिए।
सोमबार राति खाना पकाउने क्रममा बेहोस भएका उनलाई उपचारका लागि धनगढीस्थित निशर्ग अस्पताल लगिएको थियो। उपचारकै क्रममा मंगलबार उनको मृत्यु भएको हो। राना उच्च रक्तचाप र मधुमेहबाट पीडित रहेको प्रहरीले जनाएको छ।
यस्तै, मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ। बेदकोट नगरपालिका–७ गाउजीबाट सुडातर्फ आउँदै गरेको म१प ८०४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा भीमदत्त नगरपालिका–१८ भगतपुरका २३ वर्षीय निरज चौधरी गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा धनगढीस्थित मायामेट्रो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलमा सवार २२ वर्षीय सागर चौधरी र १९ वर्षीय प्रमोद चौधरी घाइते भएका छन्। दुवै जनाको धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
