मनिला — फिलिपिन्सको राजधानी मनिलाबाट करिब दुई घण्टा दक्षिणपूर्वमा पर्ने क्षेत्रमा मंगलबार हेलिकप्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
दुर्घटनाग्रस्त हेलिकप्टरमा दुई मलेसियालीसहित पाँच जना सवार रहेको अधिकारीहरूले जनाएका छन्। रिजाल प्रान्तका प्रहरी अधिकारी रामजे पाङ्गाका अनुसार एक मलेसियाली र एक फिलिपिनो नागरिकको ज्यान गएको हो।
पिलिल्लाका मेयर जोन मासिनसिनले तीन जना घाइते भएको पुष्टि गर्दै पाइलटको अवस्था गम्भीर रहेको बताएका छन्।
प्रहरीका अनुसार हेलिकप्टरको इन्जिनमा समस्या आएपछि आपतकालीन अवतरण गर्ने प्रयासका क्रममा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। फिलिपिन्स नागरिक उड्डयन प्राधिकरणले घटनाबारे अनुसन्धान सुरु गरिएको जनाएको छ।
