काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आधिकारिक फेसबुक पेज बन्द भएको छ। मंगलबार बिहानदेखि पेजमा पहुँच अवरुद्ध भएको हो।
रविको सचिवालयका अनुसार पेजमा बाह्य व्यक्तिहरूले अनधिकृत रूपमा पहुँच बनाउने (ह्याक गर्ने) पटक–पटक प्रयास गरेका थिए। ती प्रयासपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै फेसबुकको मातृ कम्पनी Meta Platformsले पेज अस्थायी रूपमा लक गरेको जनाएको छ।
सचिवालयद्वारा जारी सूचनामा भनिएको छ, “सभापति रवि लामिछानेज्यूको आधिकारिक फेसबुक पेजमा आज बिहानैदेखि बाह्य व्यक्तिहरूले अनधिकृत पहुँच बनाउने प्रयास गरेको जानकारी गराउँदछौँ। उक्त प्रयासका कारण हाललाई पेज मेटाद्वारा लक गरिएको छ।”
पेज पूर्ण रूपमा सुरक्षित नभएसम्म कुनै पनि पोस्ट सार्वजनिक नगर्ने जनाउँदै सचिवालयले अन्य शंकास्पद पेज वा सन्देशप्रति सचेत रहन समर्थक तथा शुभेच्छुकलाई आग्रह गरेको छ।
