सूर्यविनायक नगरपालिका–८ भुम्डोलबाट प्रहरीले इन्सास राइफलसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले मंगलबार गोरखा पालुङटार नगरपालिका–९ घर भई हाल भक्तपुरको भुम्डोल बस्दै आएका ३१ वर्षीय आयन सेढाईंको कोठाबाट राइफल बरामद गरेको सशस्त्र प्रहरीका प्रवक्ता तथा नायब महानिरीक्षक बिष्णुप्रसाद भट्टले जानकारी दिए।
प्रहरीका अनुसार कोठाबाट एसएलआरका ४ राउण्ड गोली, प्लास्टिक राउण्ड २ वटा, सर्ट गनमा लाग्ने १ राउण्ड, एक थान खुकुरी र दुई थान दाप, एक बन्चरो तथा पाँच थान सिरिन्ज समेत बरामद गरिएको छ।
सेढाईंलाई आवश्यक कारबाहीका लागि प्रहरीको जिम्मा लगाइएको छ। बरामद गरिएको राइफल र गोलाबारुद गत भदौ २३/२४ गतेको आन्दोलनका क्रममा लुटिएको हुन सक्ने आशंका गरिएको प्रहरीले जनाएको छ।
