वीरेन्द्रनगर नगरपालिका–९मा खाल्डोमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा ७ वर्षीय खेमराज कटुवाल र ५ वर्षीया दिपिका कटुवाल रहेका छन्। उनीहरू टेकबहादुर कटुवालका छोराछोरी हुन्।
प्रहरीका अनुसार कालिकोटको तिलागुफा नगरपालिका–९ चिलखाया स्थायी घर भएका कटुवाल परिवार हाल सुर्खेतमा बस्दै आएका थिए। बालबालिका आफूहरू बस्ने घर नजिकै निर्माणाधीन नयाँ घरको कम्पाउन्डमा खेल्दै गएका थिए।
खेल्ने क्रममा पानी भण्डारणका लागि खनिएको खाडलमा दाजु–बहिनी पसेको अनुमान प्रहरीले गरेको छ। सोमबार साँझ उनीहरू सोही खाडलमा डुबेको अवस्थामा देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले दुवै बालबालिकालाई खाडलबाट उद्धार गरी कर्णाली प्रदेश अस्पताल कालागाउँ पुर्याएको थियो। अस्पतालमा जाँचपछि चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका हुन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
