संयुक्त राज्य अमेरिका र इजरायल ले इरान मा संयुक्त रूपमा गरेको आक्रमणपछि त्यहाँ ७०० जनाभन्दा बढीको मृत्यु भएको दाबी गरिएको छ।
इरानका सर्वोच्च नेता अली खामेनी तथा उच्च अधिकारीहरूलाई लक्षित गर्दै शनिबार राजधानी तेहरानसहित विभिन्न स्थानमा आक्रमण गरिएको बताइएको छ।
अमेरिकास्थित इरानी मानवअधिकारसम्बन्धी समाचार एजेन्सी ह्युमन राइट्स एक्टिभिस्ट्स न्यूज एजेन्सी (एचआरएएनए) का अनुसार सोमबारसम्म ७४२ जनाको मृत्यु भएको छ। तीमध्ये १७६ जना बालबालिका रहेका छन्।
आक्रमणमा ९ सयभन्दा बढी व्यक्ति घाइते भएका छन्। पछिल्लो २४ घण्टामा मात्रै कम्तीमा ८५ जनाको ज्यान गएको र थप मृत्युको विवरण प्रमाणीकरणको क्रममा रहेको एचआरएएनएले जनाएको छ।
आक्रमणबाट धार्मिक संरचना तथा आवासीय भवनहरूमा समेत क्षति पुगेको दाबी गरिएको छ। राजधानी नजिकैको कराजस्थित एक मस्जिद, तेहरानको दक्षिणी क्षेत्रमा रहेको गभर्नर कार्यालय, हर्मुज समुद्री मार्ग नजिक बन्दर अब्बासमा अवस्थित शाहिद बहोनार पियर तथा विभिन्न आवासीय भवनहरू प्रभावित भएका छन्। इरानले तेहरानका केही अस्पतालहरूमा पनि क्षति पुगेको जनाएको छ।
सैन्य लक्ष्यतर्फ, पश्चिमी सहर सानान्दाजमा रहेको कुर्दिस्तान कानुन कार्यान्वयन कमाण्डको मुख्यालय र सीमाप्रहरी कमाण्ड केन्द्रमा आक्रमण भएको बताइएको छ। साथै इस्फहानस्थित एक वायुसेना अड्डा र तेहरानमा रहेको सैनिक आधारमा पनि क्षति पुगेको एचआरएएनएले दाबी गरेको छ।
उक्त विवरणहरू स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी रहेको अमेरिकी टेलिभिजन नेटवर्क सीएनएन ले जनाएको छ।
