इटहरीस्थित एरिना टेलिभिजनका अध्यक्ष तथा युवा व्यवसायी समीर कार्की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। सोमबार आयोजित एक औपचारिक कार्यक्रममा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले उनलाई सदस्यता प्रदान गरेका थिए।
उक्त कार्यक्रममा समीर कार्कीसँगै इटहरीका व्यवसायीहरू सुनिल भुसाल, सुवास लुइँटेल र निशान खत्रीलगायत अन्य व्यवसायीहरू पनि रास्वपामा आबद्ध भएका छन्।
कार्यक्रममा बोल्दै नवप्रवेशीहरूले देशमा सुशासन, पारदर्शिता र युवामैत्री राजनीतिक संस्कार विकास गर्ने रास्वपाको एजेन्डाबाट प्रभावित भएर पार्टीमा प्रवेश गरेको बताएका छन्।
कार्की यसअघि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले) मा आबद्ध थिए भने भुसाललगायत केही व्यवसायीहरू नेपाली कांग्रेस सँग सम्बद्ध रहेका थिए।
कार्यक्रममा रास्वपाका स्थानीय तथा केन्द्रीय तहका नेताहरूको उपस्थिति रहेको थियो। नवप्रवेशीहरूको आगमनले सुनसरी जिल्लामा पार्टी संगठन थप सुदृढ हुने विश्वास रास्वपाले व्यक्त गरेको छ।
