तेहरान/जेरुसेलम । इजराइल–संयुक्त राज्य अमेरिका र इरानबीचको युद्ध तेस्रो दिनमा प्रवेश गर्दा मध्यपूर्वमा तनाव थप चर्किएको छ।
यसैबीच, इरानले साउदी अरबको महत्त्वपूर्ण तेल प्रशोधन केन्द्र ‘रास तनुरा’मा आक्रमण गरेको खबर छ। उक्त आक्रमणपछि रिफाइनरी बन्द गरिएको बताइएको छ। Reutersका अनुसार साउदीको सरकारी तेल कम्पनी Saudi Aramcoअन्तर्गत रहेको यस रिफाइनरीको दैनिक उत्पादन क्षमता करिब ५.५ देखि ६ लाख ब्यारेल कच्चा तेल रहेको छ। यो विश्वकै प्रमुख अपतटीय तेल लोडिङ टर्मिनलमध्ये एक मानिन्छ, जहाँबाट अमेरिका, एसिया र युरोपका विभिन्न मुलुकमा कच्चा तेल निर्यात हुँदै आएको छ।
इरानका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी अली लारीजानीले सोमबार अमेरिकासँग कुनै वार्ता नगर्ने स्पष्ट पारेका छन्। उनले इरानले अमेरिकासँग पुनः वार्ता सुरु गर्ने प्रयास गरेको भन्ने समाचारको खण्डन गरेका छन्।
यसै क्रममा इरानले इजराइलबाहेक कतार, बहराइन र संयुक्त अरब इमिरेट्समा समेत आक्रमण पुनः सुरु गरेको जनाइएको छ।
अर्कोतर्फ, लेबनानस्थित उग्रवादी समूह हिजबुल्लाह पनि युद्धमा सहभागी भएको बताइएको छ। इरानसमर्थित हिजबुल्लाहले इजराइलका विभिन्न स्थानमा बमबारी गरेको दाबी गरिएको छ। उसले इरानी सर्वोच्च नेता आयातुल्लाह अली खामेनेईको मृत्युको बदला लिने घोषणा गरेको उल्लेख गरिएको छ।
Al Jazeeraका अनुसार अमेरिका र इजराइलले मिलेर हालसम्म इरानका १ हजारभन्दा बढी स्थानमा हमला गरेका छन्। प्रारम्भिक ३० घण्टामै २ हजारभन्दा बढी बम खसालिएको दाबी गरिएको छ। यी आक्रमणमा २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको र ७४० भन्दा बढी घाइते भएको जनाइएको छ।
एक विद्यालयमा मिसाइल खस्दा १८० छात्राको मृत्यु भएको तथा ४५ जना घाइते भएको खबर पनि आएको छ।
फेब्रुअरी २८ बाट सुरु भएको यस द्वन्द्वको पहिलो दिनमै आयातुल्लाह खामेनेई मारिएको दाबी गरिएको छ। साथै, आइतबार तीन जना अमेरिकी सैनिकको मृत्यु भएको खबर छ।
उपलब्ध विवरणहरू स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छन् र विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका रिपोर्टमा आधारित छन्।
