कुवेतमा अमेरिकी लडाकू विमान दुर्घटनाग्रस्त भएको छ। सोमबार बिहान कुवेतको अल जहरा नजिक उक्त दुर्घटना भएको CNNले जनाएको छ।
दुर्घटनास्थल कुवेतस्थित अमेरिकी वायुसेनाको अड्डा अलि अल सलेम एयरबेसबाट करिब १० किलोमिटर टाढा रहेको बताइएको छ। सिएनएनका अनुसार एकभन्दा बढी लडाकू विमान दुर्घटनामा परेको हुन सक्छ।
कुवेतको रक्षा मन्त्रालयले केही सैन्य विमान दुर्घटनामा परेको पुष्टि गर्दै चालक दलका सबै सदस्य सुरक्षित रहेको जनाएको छ। मन्त्रालयका प्रवक्ता कर्नेल सइद अल अत्वानले दुर्घटनापछि तत्काल खोज तथा उद्धार अभियान सञ्चालन गरिएको जानकारी दिएका छन्। उद्धार गरिएका चालक दलका सदस्यलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाइएको र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। कुवेतले अमेरिकी अधिकारीहरूसँग समन्वयमा काम गरिरहेको पनि मन्त्रालयले जनाएको छ।
सिएनएनले सार्वजनिक गरेको भिडिओमा एउटा लडाकू विमान आकाशबाट आगो लाग्दै खसिरहेको देखिन्छ भने अर्को भिडिओमा एक पाइलट प्यारासुटमार्फत सुरक्षित अवतरण गरिरहेको दृश्य देखिएको छ।
दुर्घटनाको कारण तथा विमान कुन देशको वायुसेनासँग सम्बन्धित थियो भन्नेबारे आधिकारिक पुष्टि भइसकेको छैन। तर भिडिओ विश्लेषणका आधारमा उक्त दुई इन्जिनयुक्त लडाकू विमान अमेरिकी एफ–१५ई मोडेलसँग मिल्दोजुल्दो देखिएको सिएनएनले जनाएको छ।
उता बेलायतबाट प्रकाशित The Telegraphले भने इरानी अधिकारीहरूलाई उद्धृत गर्दै उक्त फाइटर जेट इरानले खसालेको दाबी गरेको छ। यद्यपि यसबारे स्वतन्त्र पुष्टि भइसकेको छैन।
