लेबनान । बेरुतको दक्षिणी उपनगर तथा दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने १४९ जना घाइते भएका छन्।
लेबनानको स्वास्थ्य मन्त्रालयअन्तर्गत जनस्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रले जारी गरेको विज्ञप्तिअनुसार, बेरुतको दक्षिणी उपनगरमा मात्र २० जनाको मृत्यु र ९१ जना घाइते भएका छन्। त्यस्तै, दक्षिणी लेबनानमा भएको आक्रमणमा ११ जनाको मृत्यु र ५८ जना घाइते भएका छन्। मृतकको संख्या अझ बढ्न सक्ने आशंका गरिएको छ।
दक्षिणी लेबनानबाट इजरायली क्षेत्रतर्फ रकेट प्रहार भएपछि इजरायलले बेरुतको दक्षिणी उपनगरलाई लक्षित गर्दै हवाई आक्रमण गरेको जनाइएको छ। यस घटनापछि ठूलो संख्यामा सर्वसाधारण विस्थापित भएका छन्।
सन् २०२४ नोभेम्बरमा लागू भएको युद्धविराम सम्झौतापछि पहिलो पटक इजरायली क्षेत्रमा रकेट प्रहार भएको बताइएको छ। उक्त सम्झौताअनुसार ६० दिनभित्र दक्षिणी सीमावर्ती गाउँ तथा सहरबाट इजरायली सेना फिर्ता हुनुपर्ने व्यवस्था थियो। पछि लेबनानी सरकारले फेब्रुअरी १८ सम्मका लागि समयसीमा विस्तार गर्न सहमति जनाएको थियो। तर हालसम्म पनि पाँच स्थानमा इजरायली सेना तैनाथ रहेको र युद्धविराम उल्लङ्घन जारी रहेको बताइएको छ।।
