नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी ध्रुवीकरण आजको आवश्यकता रहेको बताएका छन्। वामपन्थी पृष्ठभूमिका व्यक्तिलाई पार्टीमा स्वागत गर्दै उनले देशभक्त वामपन्थी शक्ति एक भएको भए मुलुक अहिलेको अप्ठ्यारो परिस्थितिमा नपुगेको दाबी गरे।
जेन–जी आन्दोलन र भदौ २४ का घटनापछि कम्युनिष्टहरुलाई एकताबद्ध गर्न आवश्यकताको बढेको र त्यसैको परिणामस्वरुप नेकपा गठन भएको उनले स्पष्ट पारे।
प्रचण्डले जनताको आक्रोश र निराशालाई भड्काएर अराजकता फैलाउने, दलाल–बिचौलियाको स्वार्थमा अडिएको यथास्थितिवादी प्रवृत्तिको विरोध गर्दै राष्ट्र जोगाउने क्षमता केवल नेकपासँग रहेको बताए। हाल वाम आन्दोलन समाप्त पार्ने षड्यन्त्र भइरहेको भन्दै उनले क्रान्तिकारी कम्युनिस्ट र देशभक्त शक्तिहरूको पुनर्गठन आवश्यक रहेको औँल्याए।
संयोजक दाहालले प्रधानमन्त्री हुँदा भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्नु, प्रशासनिक सुधार गर्नु, संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्र सुदृढ बनाउन पहल गर्नु आफ्नो योगदान भएको स्मरण गराए।
उपलब्ध अधिकारको कार्यान्वयन सुनिश्चित गर्न महिला, दलित, आदिवासी–जनजाति, थारु, मधेसी, मुस्लिम, कर्णाली र सुदूरपश्चिमलगायत उत्पीडित समुदायलाई पार्टीलाई मतदान गर्न अपिल गर्दै उनले भ्रष्टाचार अन्त्य, माफिया र बिचौलियाको जालो तोड्ने तथा कानुनभन्दा माथि कोही नहुने व्यवस्था स्थापित गर्ने आफ्नो एजेन्डा रहेको बताए।
त्यसैगरी, सन्तुलित र स्वाभिमानी विदेश नीति, रोजगारमुखी तथा उत्पादनमुखी अर्थतन्त्र निर्माण, कृषि र उद्योगबीच समन्वय गरी स्वदेशमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता नेकपाले लिएको उनले बताए।
