काठमाडौँ–भक्तपुरस्थित निवासबाट सुरक्षाकर्मीले पक्राउ गरेपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईविरुद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता गरिएको छ। उनका पक्षमा अधिवक्ता सुरेश बोहराले रिट दर्ता गरेका हुन्।
प्रसाईको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ फागुन १९ गतेका लागि पेसी तोकिएको छ।
आइतबार उनलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। यसअघि विद्युत् अपराध मुद्दामा माघ २५ मा हाजिर जमानीमा रिहा भएका प्रसाई फागुन ४ मा फेरि पक्राउ परेका थिए। त्यसबेला प्रहरीले उनलाई निर्वाचन भाँड्ने गतिविधिमा संलग्न रहेको आरोप लगाएको थियो।
सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मा र मेघराज पोखरेलको आदेशले उनी फागुन १३ मा रिहा भएका थिए। तर रिहा भएको ४ दिनमै फेरि पक्राउ परेका प्रसाईलाई प्रशासनले चुनाव प्रभावित गर्ने आशङ्कामा नियन्त्रणमा लिएको थियो।
