तनहुँ क्षेत्र नम्बर १ को चुनावी सरगर्मी बढिरहेका बेला स्वतन्त्र उम्मेदवार सन्देश लौडारीले आफ्नो उम्मेदवारी फिर्ता लिएर नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई समर्थन गर्ने घोषणा गरेका छन्।
आइतबार साँझ आयोजित एक विशेष कार्यक्रममा लौडारीको नेतृत्वमा दुई सयभन्दा बढी युवाहरू औपचारिक रूपमा नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। लौडारीले कुनै अवसरवादको पछि नलागी इमानदार नेतालाई सहयोग गर्नु नै आजको आवश्यकता भएको उल्लेख गर्दै आफू कांग्रेसमा प्रवेश गरेको स्पष्ट पारेका छन्।
उनले भट्टराईको जित सुनिश्चित गर्न आफ्नो समूहका करिब १,६०० मत पूर्ण रूपमा सहयोग हुने दाबीसमेत गरेका छन्।
युवाहरूलाई स्वागत गर्दै उम्मेदवार गोविन्द भट्टराईले नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष हुँदा सधैं युवा पुस्ता (जेन–जी) को भावना बुझ्ने र उनीहरूको प्रतिनिधित्व गर्ने नेता भएको स्मरण गराए। उनले वर्तमान सभापति गगनकुमार थापा युवा हुँदा नेविसंघको टिकट प्रदान गरी राजनीतिमा अघि बढाउन सहयोग गरेको प्रसङ्ग पनि उल्लेख गर्दै युवाहरूलाई नेतृत्वमा ल्याउन आफ्नो भूमिका सधैं महत्वपूर्ण हुने बताए।
भट्टराईले आफैं युवा अवस्थादेखि भ्रष्टाचार विरोधी अभियानमा सक्रिय रहेको र अहिलेको नयाँ पुस्ताको मुख्य माग—सुशासन, भ्रष्टाचारको अन्त्य, र स्वदेशमै रोजगारीका अवसर सिर्जना—लाई प्रमुख प्राथमिकतामा राखेको प्रतिबद्धता व्यक्त गरे।
भट्टराईले भने, “हिजोदेखि नै जेन–जी युवाको माग उठाउँदै सङ्घर्षको मैदानमा लडेको छु। तपाईंहरूको विश्वासलाई निराश नगरी, तनहुँको विकासका लागि युवासँगै हातेमालो गर्दै अघि बढ्नेछु।”
