आउँदो बिहीवार हुने प्रतिनिधिसभा चुनावका लागि प्रचारप्रसार गर्न आज अन्तिम दिन हो। आज राति १२ बजेदेखि देशभरि मौन अवधि सुरु हुने भएकाले राजनीतिक दल, उम्मेदवार र कार्यकर्ताहरू प्रचारको अन्तिम चरणमा व्यस्त छन्।
मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि मौन अवधि लागू हुन्छ। यसअन्तर्गत, आज राति १० बजेदेखि चुनावको भोलिपल्ट फागुन २२ गते बिहान ६ बजेसम्म नेपाल–भारत सीमा नाकाहरू स्थानीय प्रशासनले बन्द गर्ने निर्णय गरेको छ।
निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम देशभर सञ्चालन गरेर मतदान प्रक्रिया सहज र बदर मत घटाउने उद्देश्य पूरा गरेको जनाएको छ।
बिहीवार देशभर एकै चरणमा मतदान हुने छ। प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सांसद छान्न छुट्टाछुट्टै मतपत्रमार्फत मतदान हुनेछ।
प्रतिनिधिसभाको यस चुनाव आवधिक नभई विशेष परिस्थितिमा हुन लागेको हो। गत भदौमा भएको नवयुवा आन्दोलनका कारण प्रतिनिधिसभा विघटन भएको थियो।
